पर्वतारोहीहरूलाई हिमाल आरोहण गराउने व्यवसाय सञ्चालन गर्दै आएको मकालु एड्भेन्चर प्रालिले ६ जुन (२४ जेठ)मा एउटा पत्रकार सम्मेलन गर्यो । त्यहाँ भारत, महाराष्ट्रका दिनेश राठोड र तर्केश्वरी राठोडले सगरमाथा शिखरमा पाइला राख्ने आफूहरू पहिलो भारतीय दम्पती भएको दाबी प्रस्तुत गरे । राठोड दम्पती भारत, महाराष्ट्र पुलिसका कन्स्टेबल हुन् । यस जोडीले २३ मे अर्थात् १० जेठको बिहान ६ बजेर ३० मिनेट जाँदा आफूहरू सगरमाथा शिखरमा पुगेको प्रमाण पेस गरेका थिए । राठोड दम्पतीको यो दाबी जसै आरोहीहरूबीच पुग्यो, भारतकै अर्को जोडी प्रदीप साहू र चेतना साहूले सगरमाथा शिखरमा पुग्ने पहिलो जोडी उनीहरू नभई आफूहरू भएको जिकिर गरे ।
सगरमाथा शिखर चुम्ने भारतको पहिलो जोडी आफूहरू भएको दाबी गर्ने साहू दम्पतीले १९ मे (६ जेठ)मा सगरमाथा आरोहण गरेको प्रमाण पेस गरेका छन् । रोचक के भने सुरुसुरुमा सगरमाथा आरोहण गर्ने आफूहरू पहिलो भारतीय दम्पती भएको दाबी गर्ने यस जोडीले समय बित्दै जाँदा राठोड दम्पती शिखरमा नपुगेको जिकिर गरिरहेका छन् । साहू दम्पतीले राठोड दम्पतीविरुद्ध भारत सरकारसमक्ष मात्र होइन, नेपालकै पर्वतारोहण संघ, सगरमाथा आरोही संघ र पर्यटन विभागमा समेत मौखिक उजुरी दिएपछि राठोड दम्पतीको आरोहण विवादमा तानिएको हो ।
महाराष्ट्र पुलिसमा कार्यरत राठोड दम्पतीले सगरमाथा आरोहणको प्रमाणपत्र पाए र सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पती हुन पुगे । त्यो कीर्तिमान कायम गरेकाले उनीहरूलाई त्यहाँको सरकारले एक करोड भारतीय रुपियाँ र घर बनाउनका लागि जग्गा दिने घोषणा गर्यो ।
यो कीर्तिमान राखेको प्रसंग सार्वजनिक भएपछि नै राठोड दम्पतीको आरोहणबारे आशंका उब्जिएको हो । तर, मकालु एड्भेन्चरका निर्देशक मोहन लम्सालले राठोड दम्पतीअघि कुनै पनि भारतीय जोडीले सगरमाथा शिखर चुमेको दाबी सार्वजनिक गरेका थिएनन्, न त कुनै सञ्चारमाध्यममा नै यस्तो समाचार आएको थियो । उनको एजेन्सीबाट गएका राठोड दम्पतीले आफूहरूको जोडी नै पहिलो भारतीय जोडी भएको प्रमाण पेस गरेपछि पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनको चार दिनपछि मात्र राठोड दम्पतीले मन्त्रालयबाट सगरमाथा आरोहण गरेको प्रमाणपत्र पाएका थिए । “सगरमाथा आरोहण गर्दा कुन–कुन चरण पार गर्नुपर्छ । कस्तो अवस्था झेल्नुपर्छ, शिखरमा पुगेर खिचेका फोटा कस्ता हुन्छन् भन्ने बुझेकै अधिकारीहरू प्रमाणपत्र दिने निकायमा छन्,” लम्साल भन्छन्, “राठोड दम्पतीले प्रमाणपत्र पाउँदासम्म विवाद मन्त्रालयमा पुगिसकेको थियो । त्यसैले मन्त्रालयका अधिकारीहरूले केही नबुझी त पक्कै प्रमाणपत्र दिएनन् होला !”
आरोहण गरे/नगरेको प्रमाणित गर्ने काम आरोहण दलको प्रमुख, क्लाइम्बिङ (सहयोगी) शेर्पा, आरोहण पूरा गरेको फोटो वा भिडियो, आधार शिविरमा रहने सम्पर्क अधिकृत एवं मन्त्रालयको हो । यस आरोहण दलका प्रमुख दिनेश राठोड आफैँ थिए भने क्लााइम्बिङ शेर्पामा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा थिए । राठोड दम्पती र क्लाइम्बिङ शेर्पा दुई गरी आरोहण दल चार सदस्यीय मात्र थियो । मन्त्रालयले यस समूहको सम्पर्क अधिकृतका रूपमा गणेश तिमिल्सिनालाई खटाएको थियो । सम्पर्क अधिकृत आधार शिविर (५ हजार ४ सय मिटर)मा नै बस्ने भएकाले आरोहण दलको नेता, उनीहरूका सहयोगी शेर्पाले जे भन्छन्, त्यही विश्वास गर्नुपर्ने बाध्यता हुन्छ । तिमिल्सिनाका अनुसार टोली नेता राठोड, उनकी पत्नी र क्लाइम्बिङ शेर्पाद्वयसहित समूहका चारै जनाले आरोहण सफल भएको बताए र शिखर चुम्दाको फोटो पनि देखाए । त्यसैका आधारमा उनीहरूलाई प्रमाणपत्र दिइएको हो । राठोड दम्पतीको आरोहण विवादमा आएपछि मन्त्रालय र एजेन्सी दुवैले शेर्पाद्वयसँग पनि पटक–पटक सोधपुछ गरेका थिए । तर, उनीहरूले आरोहण गरेकै जिकिर गरिरहेका छन् ।
आफूहरूले पहिले आरोहण गरेको दाबी गर्ने भारतीय दम्पतीले फोनबाट उजुरी गरेका तर लिखित उजुरी भने प्राप्त भइनसकेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठ आफैँ पनि आरोही हुन् । पाँच वर्षअघि निजामती कर्मचारीको समूहबाट उनले पहिलोपटक आरोहण गरेका थिए । यसपटक पनि उनी सुरुदेखि अन्तिमसम्मै आधार शिविरमा थिए । उनका अनुसार आरोहण नगरेकाले आरोहणको प्रमाणपत्र नपाऊन्, विवाद नआओस्, उजुरी नपरोस् भनेरै प्रमाणपत्र दिँदा तथ्य–प्रमाणहरू दोहोर्याइ–तेहर्याइ हेर्ने गरिन्छ । तर, फोटोको सत्यता जाँच गर्ने उच्च प्रविधिचाहिँ नेपालमा छैन । युरोप र अमेरिकामा मात्र उपलब्ध छ । साहू दम्पतीले राठोड दम्पती ४ मे (२२ वैशाख)मा मात्र आधार शिविरमा पुगेको बताएका छन् । जसलाई मकालु एड्भेन्चरका निर्देशक लम्साल पनि स्वीकार्छन् । अझ आधार शिविरमा उनीहरूलाई भेट्ने एक आरोहीलाई उद्धृत गर्दै यतिसम्म पनि भनिएको छ कि, २८ वैशाखसम्म उनीहरूले खुम्बु आइसफल नै छोएका थिएनन् । ती आरोहीका अनुसार उनीहरूले बेसक्याम्पमै हिउँका ढिक्कामा हुने सामान्य अभ्यास पनि सुरु गरेका थिएनन् । अनुभवी आरोहीहरूसमेत उचाइसँगको अनुकूलता मिलाउन एक महिनाअघिदेखि नै आधार शिविरमा बसेर खुम्बु आइसफल, क्याम्प–१, क्याम्प–२, क्याम्प–३ र क्याम्प–४ मा ओहोरदोहोरको अभ्यास गरिरहन्छन् । राठोड दम्पती त्यहाँ पुग्दा अधिकांश आरोही त्यो चरण पार गरेर चुचुरोतर्फ लम्कने साइत कुरिरहेका थिए । राठोड दम्पतीको नाम गुगलमा खोज्दा उनीहरूले आफ्नो सफलताको समाचार आरोहणको झन्डै दुई सातापछि मात्र दिएका छन् । एक त यामको अन्त्यतिर आरोहण गर्नु र अर्को समाचार ढिलो सार्वजनिक गर्नुले पनि अरूको नजर नपरोस् भन्ने मनसाय देखिन्छ ।
राठोड दम्पतीको आरोहण व्यवस्थापन गरेको मकालु एड्भेन्चरले भने समय उचित भएको दाबी गरेको छ । उसका अनुसार उनीहरूले अघिल्लै वर्ष आरोहणको अनुमति लिएका थिए । गत वर्ष आरोहण गर्न असम्भव भएपछि यस वर्ष गरेका हुन् । जसका लागि उनीहरू २२ अप्रिल (१० वैशाख)मा काठमाडौँ आइपुगेका थिए । त्यसकै भोलिपल्ट लुक्ला पुगे । त्यहाँबाट आधार शिविरसम्म गए । आधार शिविरबाट २९ अप्रिल (१७ वैशाख)मा हेलिकप्टरमा काठमाडौँ फर्किए । त्यसपछि, आरोहण अनुमतिपत्र लिएर फेरि १ मे (१९ वैशाख)मा लुक्ला पुगे । लुक्लाबाट ४ मे (२२ वैशाख)मा आधार शिविर पुगे । र, चारवटै क्याम्पको ‘अल्टिच्युड’सँग अभ्यस्त हुँदै २३ मे (१० जेठ)को बिहान शिखर आरोहण गरेको प्रमाण उक्त टिमले आफूहरूलाई दिएको निर्देशक लम्साल बताउँछन् ।
समय लम्बिँदै जाँदा राठोड दम्पतीप्रति शंका अझ गहिरो बन्दै गएको छ । त्यो कसरी भने, ८ जेठमा चुचुरोमा पुगेका भारतीय आरोही सत्यरूप सिद्धार्थले आफ्नो फोटो चोरेर राठोड दम्पतीले प्रयोग गरेको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘अचम्म छ ! उनीहरूले चुचुरोको मेरो तस्बिरलाई फोटोसप गरी आफ्नो बनाएछन् । र, प्रमाणपत्र पनि पाएछन् । कता जाँदैछ आरोहण ?’ उनले पुष्टिका लागि आफ्नो ‘वास्तविक’ फोटोसमेत सेयर गरेका छन्, जसमा राठोड दम्पतीले अनुहार मात्र आफ्नो जोडेका छन् । सिद्धार्थले आफ्नो तस्बिर चोरिएको पुष्टिका लागि भिडियो पनि सेयर गरेका छन् ।
राठोड दम्पतीजस्तै अर्का एक भारतीय आरोहीको आरोहण पनि त्यस्तै शंकास्पद पाइएको छ, उनी हुन् सेभेन समिट्स ट्रेकबाट आरोहणमा गएका नरेन्दर राव । रावको शिखरमा खिचेको तस्बिरलाई नियाल्ने हो भने पनि शंका गर्ने ठाउँ प्रशस्तै रहेको आरोहणका जानकारहरू बताउँछन् ।
शंका लागेमा तस्बिरहरू जाँच गर्न सकिन्छ । भिडियो फुटेज मगाएर पनि हेरिन्छ । तर, तस्बिर सक्कली वा नक्कली कस्तो हो भनेर पत्ता लगाउने साधन नै छैन । त्यसैले फोटो क्रप गरेको हो/होइन जाँचेर हेरिँदैन । फोटोलाई आँखाले हेरेका भरमा, टिम लिडर, क्लाइम्बिङ शेर्पा, एजेन्सी, सम्पर्क अधिकृतले आरोहण गरेको भनेका आधारमा प्रमाणपत्र दिने गरिएको छ । पर्यटन विभागका श्रेष्ठ भन्छन्, “उजुरी पर्यो भने अवश्य नै छानबिन हुन्छ ।”
यसअघि पनि भारतबाटै एउटा उजुरी परेको थियो । तर, नक्कली आरोहण हो कि होइन पत्ता लाग्नै सकेन । कारण, फोटो, भिडियो जाँच गर्ने प्रविधिको अभाव । त्यसैले अहिलेसम्म कसैको प्रमाणपत्र पनि खारेजी भएको छैन । यसपटकको घटनाबाटचाहिँ आरोहण गरेको हो/होइन, छानबिन गर्ने समिति र आधुनिक प्रविधि भित्र्याउन दबाब मिल्ला कि ?