ओकेको त्यो दसैँ
मैले राम्रोसँग जाने बुझेको पहिलो दसैँ। असोजको अन्तिम हप्ता, दसैँको सप्तमी। सबैका घर कमेरो र रातोमाटो छ्यापेर चिटिक्क पारेका। तीज पछि देखि नै खेल्ने साथीहरुको लहैलहैमा दसैँ आउने दिन गन्दै बसेको थिएँ म पनि। साना भाइबुईनाले पनि मसँगै तोतेबोलीमा “दसैँ आउला खाउँला पिउँला… राम्रा राम्रा लुगा लाउँला” गीत गाउँदै हातका कान्छी औँलादेखि बुढीऔँलासम्म पटकपटक गन्दै बसेका थिए। जतिपटक दसैँ सम्झ्यो, त्यतिपटक गन्यो। दिनको एकदर्जनपाली भन्दा बढि गन्न थालेको पनि महिनै भैसक्यो।
म ६ बर्षको थिएँ, बैनी ४ बर्षकी, भाई २ बर्षको। म भन्दा जेठाबाठा साथीहरुले भनेको: भोलीबिहान दहिचिउरा खाने दिन रे। तीनचार दिन अघिदेखि केराको घरीलाई काटेर घ्याम्पामा पकाएका छन् रे। दिउँसो खसी खाट्ने रे। सानेको बाबाले तीनदिन अघि शेर्पा गाउँबाट एउटा जब्बरको खसी किनेर ल्याएछन्, मंसिरमा धान भर्ने गरी। म पनि हेर्न गएको थिएँ, ठूलो खसी। झण्डै हानेको मलाई त्यस्ले। पर्सिपल्ट दिनभरी मासुभात खाने रे। त्यसको भोलिपल्ट टीका थाप्न मामाघर जाने रे, नयाँ लुगा लगाएर। सबैजना खुशीले रमाएका। म पनि अपवाद हुने कुरै थिएन। म रमाए पछि भाइबैनी पनि रमाउँथे स्वतह: सिद्द। कारण बुझ्नु किन परोस्?
सप्तमीको दिन बेलुका बल्लबल्ल रात प-यो। कति लामा यी दिनहरु पनि? भोलीपल्ट बिहान दहिचिउरा र मासुभात खानेदिनको कल्पनैमा रमाउँदा रमाउँदै भुसुक्कै निदाएँछु। बिउझिँदा त घामै झुल्किसकेछन्। भाई र बैनी सुतिरहेका थिए। उनीहरु निकै अवेरसम्म सुत्छन् बिहान। केटाकेटी त परे। हुन त म पनि कति न ठूलो भैसकेको हुँ र?
“आज दसैँ, दहिचिउरा र मासुभात खाने दिन” एक्लै भएपनि आवाजै निकालेर बोल्दै उठेँ म। बैनी पनि उठी मेरो बोली सुनेर।
“म पनि दहिचिउरा खाने” बैनी रुन थाली। उसलाई मैले मात्र खान लागेको भन्ने लागेछ क्यारे।
“हजुरआमा, आमा काहाँ गईन्। मलाई दहिचिउरा खै त?” मैले हजुरआमासँग दहिचिउरा मागेँ। दसैँ मनाउन खोजेँ। आमा र हजुरआमाले दसैँ मनाईसकेछन् जस्तो लाग्यो मलाई। कस्ता रै’छन् है, हामी केटाकेटी सुतेकै बेलामा दसैँ मनाईसकेछन्?
“तेरी आमा घाँस गा’की छ। कस्ले भन्यो तँलाई आज दहिचिउरा खाने भनेर?” हजुरआमाले मलाई सोध्नु’भो।
“सानेले भनेको” मैले भनेँ।
“त्यो साने छुच्चोले भनेको के हुन्थ्यो?” हजुरआमाले फेरि दोहो-याउनु’भो।
मैले पत्याएँ। सानेले मलाई धेरैपल्ट ढाँटेको छ। काँक्रो मैरै आँखै अगाडि चोरेर पनि मैले हुँदै हैन भनेर किरिया खायो। श्यामेका घरको पोथ्रोबाट कुखुराको फुल चोरेको हामी दुबै भएर। ओमेले मात्र चोरेको हो भनेर रुँदै लडिबुडि ग-यो। श्यामेका बाउले मलाई मात्र भकुरे। आज फेरि दसैँ हो भनेर ढाँटेछ मलाई। मलाई हजुरआमाको कुरा विश्वास लाग्यो। सानेले पक्कै ढाँट्यो मलाई।
हामी खेल्न निस्किउँ। भाईले बाटैमा आची गरेछ। बैनीलाई स्याउलाले सोरेर फाल्न भनेको मान्दै मानिन। घिनलाग्छ रे उसलाई। मैले नि फाल्नु प-यो। हामी पिङ खेल्न गयौँ। पर्सेदाई (पशुपतिदाई) ले पिङ हालिदिएको। कति मज्जाको है पर्सेदाई त!
“ए ओमे। हाम्रा घरमा आईज त?” सानेले मलाई हात समाएर तान्यो उस्को घरतिर। म बैनीलाई पिङ मच्चाउँदै थिएँ।
“किन साने?” मैले सोधेँ।
“हाम्रा घरमा खसी काट्न लागेका छन्। आईज त हेर्न” उसले मलाई झन् दह्रोगरी समाएर तान्यो। बैनीलाई पिङबाट झारेँ र हामी सानेको घर गयौँ। भाईलाई बोकेँ मैले पछाडि पिठ्युँमा, बैनीलाई हात समाएर डो-याएँ। साने त कुद्दै उस्को घरतिर लाग्यो। हामी पनि त्यतै गयौँ।
ठूलो खसी त काटीसकेछन्। टाउको एकातिर रहेछ, जीउ अर्कैतिर। मलाई त डर लाग्यो। हामी केटाकेटीलाई नजिक जानै दिएनन्। टाढै बसेर हे-यौँ, खसी काटेको। सानेका बा भुत्ला खुर्किँदै रहेछन्।
“म कान पोलेर खाने। बा, मलाई कान देउन?” सानेले उसको बालाई कान दिनु भनेर ढिपी ग-यो।
“एकछिन् पख” सानेका बाले हतार गरेनन्।
सानेले जिद्दी छोडेन। उसका बाले खसिको कान काटेर दिए। कान हातमा झुण्डाउँदै साने घरभित्र पस्यो। हामी सानेले कान पोलेको ढोकाको छेउवाट चियाईचियाई हेर्दै बस्यौँ, भित्र गएनौँ। सानेको घरभित्र पस्ता अस्तिनै आमाले थप्पड हानेको डाम मेरो गालामा छँदैथियो। बैनी र भाई भित्र पस्न खोजे, मैले तानेर जानै दिईँन।
सानेले कान पोलेर हातमा झुण्डायो। अब सानेले पोलेको खसिको कान बाहिर लिएर आउँछ र हामी पनि खान पाउछौँ भन्ने आस थियो हामीलाई। सानेकी आमाले सानेलाई तलमाथि गएर खा भनिन्। खुरुरु कुदेर तलामाथि चढ्यो।
हामी ढोकाबाट सानेकी आमाले रक्ती पकाएको हेरेरै बस्यौँ। सानेकी आमाले रक्तीको भाँडो अगेनाबाट निकालिन् र एउटा थालले छोपिन्। अनि बाहिर निस्कन खोज्दै ढोकातिर आईन् र कराउँदै हामीलाई हकारिन् “हैन, यि केटाकेटीहरु पनि दसैँका बेलामा घरमा बसेर दहिचिउरा र मासुभात खान छोडेर के गाउँगाउँ ढुक्तै बसेका?”
सानेकी आमाले गाली गरेपछि हामी डरायौँ।
मैले भाईलाई बोकेँ र बैनिको हात समाएर डो-याउँदै घर फर्कियौँ। आमा पनि घाँसबाट फर्कीसकिछन्।
“हैन, तिमेरुलाई गाउँगाउँ नडुली खा’को पच्दैन कि क्या हो?” आमाका यस्ता गालिहरु पचाउन सक्ने भैसकेका थियौँ हामी तरपनि आज चाहिँ साच्चै नराम्रो लाग्यो।
“आमा हाम्लो खछि कहिले कात्ने” बैनीले तोतेबोलीमा बोली।
“आज दसैँ, आज काट्ने है आमा” मैले आमालाई फकाएँ।
“ल आजै काट्ने, जा त ओमे त्यो घिरौँलाको झेलमा गएर एउटा ठूलो घिरौँलो टिपेर ले” आमाले हामीहरुलाई फकाउँदै भन्नु’भो।
“मैले घिरौँलो ल्याएपछि खसी काट्ने है त?”
“ल हुन्छ। हामी नि घिरौँलालाई नै खसि मानेर काटेर मज्जासँग खाने है” आमाले हासेँर फकाउनु’भो।
“नाईँ के, खसी नै काट्ने” हामीले एकछिन् जिद्दी ग-यौँ। तर हाम्रो केहि लागेन।
ओकेको त्यो दसैँ त्यसरी नै बितेको थियो।
*समाप्त*